भारतले चिनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने :अध्यक्ष अग्रवाल

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३१ , भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा त्यसको ठूलो प्रभाव नपर्ने देखिएको छ ।

 

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतले चिनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने बताए । नेपालमा यस वर्षको चिनीको उत्पादन र मौज्दात पर्याप्त रहेकाले भारतीय प्रतिबन्धले बजारमा अभाव सिर्जना नगर्ने उनको दाबी छ ।

भारतले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको हो । संघ अध्यक्ष अग्रवालका अनुसार नेपालको वार्षिक चिनी खपत करिब २ लाख ८० हजार टन बराबर छ । यस वर्ष नेपालका उद्योगहरूले मात्रै करिब २ लाख टन चिनी उत्पादन गरेका छन् ।

नेपालको आन्तरिक उत्पादनले मात्र नधाने पनि यस वर्ष पर्याप्त आयात भइसकेको अग्रवालले जानकारी दिए ।

मूल्यवृद्धिका सम्बन्धमा उनले चिनी एउटा कमोडिटी (वस्तु) भएकाले बैंकको ब्याज, बीमा र क्यारिङ कस्टका कारण सिजन र अफ–सिजनमा सामान्य मूल्य घटबढ हुनु स्वाभाविक भएको बताए ।

तर, भारतको प्रतिबन्धकै कारण अत्यधिक वा अस्वाभाविक रूपमा मूल्य बढ्ने सम्भावना नरहेको उनको भनाइ छ ।

प्रकाशित : 14 May, 2026

प्रतिक्रिया दिनुहोस्