प्रदेश सरकारले लुम्बिनीमा मन्त्रालय संख्या घटाइँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १ , लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ ।

प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ । लुम्बिनीमा हाल १२ मन्त्रालय छन् ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार, प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिइने भएको छ ।

बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । अब आगामी आर्थिक बर्षदेखी यातायात व्यवस्था कार्यालय नभएको जिल्लाको हकमा सवारी दर्ता किताब (बिल बुक) नवीकरण, अस्थायी बाटो इजाजत सेवा प्रदान गर्ने निर्णय गरिएको छ ।

 

प्रकाशित : 15 May, 2026

प्रतिक्रिया दिनुहोस्