आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिम तराईमा गर्मी बढ्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ ४, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसममा बदली र वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कोशीका धेरै स्थान तथा बागमती र गण्डकीका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश र अन्य पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने देखिएको छ। ती क्षेत्रमा गर्मी बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा बादल लाग्नेछ। यी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ। देशका अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईमा भने मौसम सफा रहनेछ।

वर्षा, हिमपात र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्