सभामुखले बोल्ने समय नदिएपछि हर्क प्रतिनिधिसभा बैठक छाडेर हिँडे

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , सभामुख डोलप्रसाद अर्याल(डीपी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख अर्यालले समय दिएनन् ।

‘माननीय सदस्य मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन बस्नुस्,’ सभामुख अर्यालले भनेका थिए । तर साम्पाङ बस्न मानेनन् । त्यसपछि सभामुखले, ‘के समय हो रु आकस्मिक समय हो कि, शून्य समय हो कि ? विशेष समय हो कि ?’ भनेर सोधेका थिए ।

साम्पाङले ‘आकस्मिक समय’ भनेका थिए । तर, सभामुखले ‘के विषयमा आकस्मिक समय ?’ प्रश्न गर्दै फेरि बस्न भनेका थिए । त्यसपछि पनि दुवैजनाबीच गलफत्ती चलिरह्यो । सभामुख अर्यालले न समय दिए, न माइक ।

सभामुखले समय नदिएपछि साम्पाङ बोलिरहे । उनले भने, ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँहरूले जे खेलिरहनुभएको छ, यो नियममुताबिक छैन । संसद्को भावनामुताविक छैन ।’

प्रतिपक्षलाई बोल्न पनि सीमित पारेको उनले आरोप लगाए । ‘बोल्ने कुरामा पनि हामीलाई सीमित पारिएको छ, यहाँ सत्तापक्षका साथीहरूले बोलिराख्नुपर्ने आवश्यकता हुँदैन नि । सत्ताले त काम गर्ने हो । प्रतिपक्षको प्रश्न राख्ने समय पनि छैन । जहिले पनि तीन मिनेट समय दिइन्छ, हामीलाई बाध्यता छ,’ साम्पाङले भने ।

त्यसपछि अर्को विषय भन्दै उनले सांसदहरू अनुपस्थित भएको विषय उठाए । ‘यो कुर्सी खाली छ, आधा भन्दा बढी । यसरी अनुपस्थित हुने सांसदहरूलाई के कारबाही गर्नुपर्ने हो गरियोस्,’ उनले भने, ‘हामी चाहिँ दिनभर बसिराख्नुपर्ने अरु चाहिँ बस्नु नपर्ने । म पनि एउटा दलको नेता हुँ, यहाँ पूरै लाइन खाली छ, यहाँ नआउनुपर्ने रैछ, जे जे गर्ने हो गर्नुहोला, म पनि लागेँ ।’

त्यसपछि उनी संसद बैठक छाडेर हिँडे ।

प्रकाशित : 19 May, 2026

प्रतिक्रिया दिनुहोस्