अर्थमन्त्री वाग्लेले आगामी बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग लिए सुझाव
सहयात्रा टिभी
काठमाडौँ । जेठ ७, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा।वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका लागि सुझाव लिए ।

सो क्रममा पूर्वअर्थमन्त्रीहरूले पूर्वतयारी विनाका खुद्रे आयोजनामा बजेट नराख्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरे । उनले तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न समेत सुझाव दिए । विद्युतमा मूल्य अभिवृद्धि कर लगाउन नहुने समेत उनको सुझाव थियो ।
पूर्व अर्थमन्त्री शंकर कोइरालाले रामेश्वर खनाल लगायतले निर्माण गरेकोसहित पुराना आर्थिक प्रतिवेदन अनुशरण गर्न सुझाव दिए । सही मान्छे सही ठाउँमा सही समयमा आएको भन्दै उनले अर्थमन्त्रीलाई सफलताको शुभकामना समेत दिए । विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई खुला गर्नुपर्ने उनको सुझाव थियो ।
आयोजना निर्माणका लागि वनका अप्ठ्यारो फुकुवा गर्न र नयाँ उद्योग तथा औद्योगिक क्षेत्र स्थापना गर्न उनले सुझाव दिए । हेजिङ पोलिसी अगाडि बढाउन र जनार्दन शर्माका पालामा अघि बढेका केही कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिए । पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक हुन्छ, त्यसबारे भने विचार गर्न उनले सुझाव दिए ।
पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री बाउन्ड्रीमा बस्न खोज्ने तर, राजनीतिले छक्का हान्न खोज्ने प्रवृत्तिका बीच बजेट बनाउनु पर्ने अवस्था रहेको स्मरण गरे । उनले अर्थमन्त्रीलाई बाउन्ड्रीमा बस्न सुझाव दिए । राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशतमात्र भएको भन्दै उनले १५ प्रतिशत नराख्न सुझाव दिए । यस वर्ष १२ खर्ब माथि पुगे पनि १३ खर्ब राजश्व नपुग्ने उनको अनुमान छ ।
बजेटको आकार साढे २० खर्ब हाराहारी हुनुपर्ने बताए । राजस्व लक्ष्य धेरै महत्वकांक्षी हुन नहुने उनको भनाइ छ । आयकरको तल्लो सीमा नचलाउन समेत उनले सुझाव दिए । अन्तःशुल्क जबर्जस्ती लगाइरहेको भन्दै उनले कम गर्दै जानुपर्ने तर्क गरे । मूल्य अभिवृद्धि कर दुई दरमा जान नहुने उनको सुझाव छ ।
संघ सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोक्नु पर्ने र लक्ष्य अनुसार पूरा गर्न सकिने कामलाई प्राथमिकता दिन सुझाव दिए । स्वास्थ्य बीमामा थैली नबढाउन सुझाव दिँदै उनले कृषिमा अनुदान भने जरुरी रहेको बताए । कृषिमा मधेशको योगदान घटेको भन्दै उनले यसमा ध्यान दिन जरुरी रहेको बताए ।
राष्ट्रिय गौरवका आयोजनामा विगतमा मनपरी भएको भन्दै यसलाई सच्याउन सुझाव दिए । संस्थानहर”लाई एकीकृत तरिकाले विकासको मोडल बनाउन सुझाव दिँदै एलडीसी ग्र्याजुएसनमा भने खुट्टा नकमाउन ढाडस दिए ।
योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्ने जोखिम लिन समेत उनले सुझाव दिए । संघीयता कार्यान्वयन गर्न बजेट ल्याउनु पर्ने र निर्मम भएर सरकारी खर्च कटौती गर्नुपर्ने बताए । उनले हाइ अल्टिच्यूट खेल पूर्वाधारमा लगानी गर्न र फलाम, तामाजस्ता खनिज उत्खननमा लगानी गर्न सुझाव दिए । ताजा तरकारी नेपाल कै खाउँ भन्दा विगतमा आफुलाई अप्ठ्यारो परेको भन्दै उनले यो जरुरी रहेको बताए ।
औषधी उद्योग सरकारले नै चलाउन पर्ने तर्क गर्दै उनले रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना रहेको बताए । उनले निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिए । पढ्दै–कमाउँदै, वा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट आओस् भन्ने अपेक्षा गरे । सीमा क्षेत्रको बजार हराभरा बनाउनुपर्ने भन्दै उनले जुम्ला पुग्न टनेल खन्न सके यसले कर्णालीको समृद्धि ल्याउने बताए ।
