एमाले सचिवालयको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ८, नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ११:३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो । अध्यक्ष ओलीको प्रस्तावमा नेताहरुको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने छ ।

त्यसलाई अन्तरपार्टी निर्देशनमार्फत नेताहरुलाई पठाउने तयारी छ । गत मंसिर २७ र २९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो । फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।

यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल, विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ । अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ ।

 

प्रकाशित : 22 May, 2026

प्रतिक्रिया दिनुहोस्