एमाले सचिवालय बैठक आज पनि बस्दै, नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षा मुख्य एजेन्डा
सहयात्रा टिभी
काठमाडौँ । जेठ ९, नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ : ३० बजेका लागि बैठक बोलाइएको छ।

यसअघि हिजो बसेको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको सांगठनिक अवस्था र आगामी रणनीतिका बारेमा समीक्षात्मक धारणा राखेका थिए। उपाध्यक्षहरूको ब्रिफिङ सकिएपछि हिजोको बैठक स्थगित गरिएको थियो।
आजको बैठकमा बाँकी १२ जना पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। बैठकमा मुख्यतया पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षामा केन्द्रित रहेर छलफल हुनेछ। उपमहासचिव लेखराज भट्टका अनुसार हिजोको बैठकमा हालसम्मको अवस्था र निर्वाचनका विविध पक्षबारे लामो छलफल भएको थियो।
आजको बैठकमा पदाधिकारीहरूको धारणा सुनिसकेपछि नेताहरूको कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ। एमालेले आगामी सांगठनिक सुदृढीकरणका लागि नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ। बैठक आज पनि अध्यक्ष ओलीकै निवास गुण्डुमा बस्ने तय भएको छ।
