सांसद निशा डाँगीको प्रश्न : नयाँ संसदको कुर्सी कुन देशको काठबाट बनेको हो ?
सहयात्रा टिभी
काठमाडौं । जेठ १३ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नयाँ संसद भवनमा प्रयोग गरिएका कुर्सी र त्यसमा प्रयोग भएको काठको स्रोतबारे सरकारसँग जवाफ मागेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डाँगीले केही दिनपछि सर्ने भनिएको नयाँ संसद भवनमा सभामुख र सांसदहरू बस्ने कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनेको हो भन्दै प्रश्न गरेकी हुन्। उनले यो प्रश्नको उत्तर आफूले अघिल्लो कार्यकालदेखि नै खोजिरहेको समेत जानकारी गराइन्।
नेपालका वनजङ्गलमा रहेका काठको सही सदुपयोग हुन नसकेको तर विदेशबाट भने अर्बौंको काठ आयात भइरहेको प्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन्। महालेखा परीक्षकको ६१ औं प्रतिवेदनलाई उद्धृत गर्दै डाँगीले भनिन्, “नेपालको काठ सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँका काठजन्य सामग्री आयात भइरहेका छन्। स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठ भित्र्याउन सजिलै एलसी खुल्ने सरकारको नीति विरोधाभासपूर्ण छ।”
उनले आफूले वन फँडानी गर्नुपर्छ भन्न नखोजेको प्रष्ट पार्दै आफूसँग भएको प्राकृतिक स्रोतको सही सदुपयोग हुनुपर्नेमा जोड दिइन्। काठमाथिको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उनले यसको सुरुवात संसद भवन र सिंहदरबारबाटै गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद डाँगीले भनिन्, “सुरुवात यही संसद र सिंहदरबारबाट गरौं। त्यसपछि देशभरिका सरकारी कार्यालयमा नेपाली काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्ने नियम लागू गरौं।”
