भारतमा फेरि बढ्यो एलपी ग्यासको मूल्य
सहयात्रा टिभी
काठमाडौँ । जेठ २४, भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि भएको छ । शनिबार रातिदेखि लागु हुने गरी घरेलु एलपीजी प्रतिसिलिन्डर मूल्यमा २९ रुपैयाँ भारु वृद्धि गरिएको छ ।

यो वृद्धिसँगै आइतबारदेखि दिल्लीमा १४.२ किलोको घरेलु ग्यास सिलिन्डरको मूल्य ९४२ भारु पुगेको छ । पछिल्लो तीन महिनामा घरेलु ग्यासको मूल्य बढेको यो दोस्रो पटक हो । यसअघि मार्च ७ मा प्रतिसिलिन्डर ६० रुपैयाँ भारु बढाइएको थियो ।
घरेलु ग्यास मात्र नभई व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डरको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ । जुन १ मा १९ किलोको व्यावसायिक सिलिन्डरको मूल्य ४२ भारुले बढेर ३ हजार १ सय १३ भारु पुगेको छ । बीबीसीका अनुसार यसअघि मे महिनामा मात्रै व्यावसायिक सिलिन्डरमा १ हजार भारु वृद्धि गरिएको थियो ।
त्यसैगरी मे महिनामा पेट्रोल र डिजेलको मूल्य पनि चार पटक बढाइसकिएको छ । मे १५ देखि २५ को बीचमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७ देखि ७.५ भारुसम्म बढेको छ ।
भारत सरकारका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछाल नै यसको मुख्य कारण हो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एसियामा संघर्ष चर्किएको छ । इरानले तेल र ग्यास आपूर्तिको महत्त्वपूर्ण मार्ग ‘होर्मुज स्ट्रेट’ लगभग पूर्णरूपमा बन्द गरिदिएपछि विश्वभरि ऊर्जा संकट र मूल्यवृद्धि देखिएको हो ।
भारत आफ्नो ऊर्जा आवश्यकताका लागि आयातमा निर्भर रहेकाले यसको प्रत्यक्ष असर परेको पेट्रोलियम मन्त्रालयले जनाएको छ ।
हाल भारतभरि ३३।३७ करोड परिवारसँग एलपीजी कनेक्सन छ । यसमा प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गतका १०.५८ करोड विपन्न परिवार पनि सामेल छन्, जो यो मूल्यवृद्धिबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।
पश्चिम एसियाको तनाव तत्कालै शान्त नभए आगामी दिनमा मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
