कोशीका कानुनमन्त्री पराजुलीको क्वाटरमा बिहीबार मध्यरातमा प्रहरीको छापा
सहयात्रा टिभी
काठमाडौँ । असार ५, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वाटरमा बिहीबार मध्यरातमा प्रहरीले छापा मारेको छ।

विराटनगर-३, ल क्याम्पसनजिकै रहेको मन्त्रीको निवासमा राति ११ बजेतिर प्रहरी टोली पुगेको थियो । मन्त्रीको सचिवालयका अनुसार राति पर्खाल नाघेर प्रहरी भित्र छिरेको हो । प्रहरी पुग्दा मन्त्री भने थिएनन् ।
मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेल अनुसार, कर्तव्य ज्यान मुद्दाका एक पुराना फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको हो । तर, त्यहाँ पुगेको प्रहरीले मन्त्रीको क्वार्टर भन्ने जानकारी नपाएको उनले दाबी गरे ।
उनले प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको दोहोर्याए । ‘प्रहरी टोली अभियुक्तकै पिछा गर्दै त्यहाँ पुगेको हो। मन्त्री लक्षित कारबाही थिएन, केवल शंकास्पद व्यक्तिको खोजी थियो,’ उनले भने ।
कटेलका अनुसार, ती अभियुक्त केही समयअघि चितवनबाट भागेर आएको सूचना थियो। ‘पहिले उनी त्यहाँ बस्ने गरेको भए पनि प्रहरी पुग्नुअघि नै उनी ठाउँ सरिसकेका रहेछन्’ उनले भने ।
तर मन्त्रीको सचिवालयले भने मन्त्रीको निवास हो भन्ने जान्दा जान्दै प्रहरीले जबर्जस्ती पुगेको बताएको छ ।
