राष्ट्रिय चलचित्र २०८२को विभिन्न ८ विधामा पुरस्कार प्रदान
सहयात्रा टिभी
काठमाडौँ । असार ५, राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न ८ विधामा पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।
नवीन चौहान निर्देशित ऊनको स्वीटरले ३ विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार भने परान फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि परानले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन् ।
उत्कृष्ठ छायाकनको पुरस्कार कोशेढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरेका छन् ।
यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान ले पुरस्कृत गरिएको छ । ३ लाख ७५ हज़ार नगदसहित श्रेष्ठलाई सम्मान गरिएको हो ।
रमिताको पिरतीबाट आना शर्मा र झरी पछिको इन्द्रेणीबाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
