पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन
सहयात्रा टिभी
काठमाडौँ । असार ८, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो ।

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र नेपाली कांग्रेसका आदर्शवादी नेताका रुपमा परिचित थिए ।
२०२५/०२६ सालतिर तत्कालीन नेशनल कलेज हालको शंकरदेव कलेजमा नेपाल विद्यार्थी संघको इकाइ गठन गरी सचिव भएर राजनीतिमा होमिएका खरेल २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत पटक-पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका खरेल कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए । बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतलाई अदर्श मान्ने खरेल २०५६ मा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए ।
उनी शिक्षा राज्यमन्त्री भएका बखत प्राथमिक शिक्षा परियोजन लागू भएको थियो, जसमार्फत भवनलगायतका भौतिक पूर्वाधारको अभाव भएका कैयौं विद्यालयहरुको भौतिक संरचना निर्माण तथा प्राथमिक तहको शिक्षा सर्वसुलभ हुँदै स्तरोन्नतिमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । खरेल शिक्षा राज्यमन्त्री भएका बेला झण्डै १ हजार ३०० भन्दा बढी शिक्षक दरबन्दी वितरण भएको थियो ।
तत्कालीन समयमा कांग्रेसको पार्टी कार्यालय नहुँदा लामो समय खरेलकै घरबाट पार्टी चल्ने गरेको थियो । मन्त्री भएका बेला संसद विघटन भएपछि उनले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए । खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।
पाँचखाल नगरका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेल राजेन्द्रका छोरा हुन् । उनलाई पितृशोक परेको छ । खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । अन्तिम संस्कार दिउॅसो १ बजे पशुपतिमा गरिने पारिवारिस स्रोतले जनाएको छ ।
