व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री बालेन
सहयात्रा टिभी
काठमाडौँ । असार २४, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको छलफलमा ‘कसैले कसुर गरेको भए त्यसको अनुसन्धान गर्ने अधिकार सरकारलाई भए पनि आरोपितको कुरै नसुनी पक्राउ गर्ने कुरा राम्रो नभएको’ आफूले बताएको अग्रवालको भनाइ छ ।
‘पहिले आरोपीका कुरा सुन्दै नसुनी पक्राउ गर्ने तथा थुनामा हाल्नु ठिक भएन, यो समस्या समाधानका लागि अग्रिम जमानत (एन्टिसिपेटरी बिल) सम्बन्धी कानुनी व्यवस्था गर्नुपर्यो भन्ने कुरा मैले गरेँ,’ अग्रवालले भने ।
त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएको अग्रवालले जानकारी दिए । यस विषयमा प्रधानमन्त्रीले धेरै कुरा नबोलेको उनको भनाइ छ ।
साथै, सरकारको मुख्य उद्देश्य ‘देश बनाउने’ रहेको र त्यसमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रधानमन्त्रीले बताएको पनि उनले बताए ।
‘देश बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ, त्यसो हुँदा सरकारले निजी क्षेत्रलाई साथ नै लिएर अघि बढ्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ उनले भने ।
परिसंघले निजी क्षेत्रले पीपीपी मोडेलमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न चाहेको कुरा बताएको थियो । त्यस्तै छलफलमा प्रधानमन्त्रीले ‘विशेष आर्थिक क्षेत्रमा किन उद्योग आएनन् रु’ भन्ने चासो राखेको पनि अग्रवालले बताए ।
‘निजी क्षेत्रका समस्या सरकारले समाधान गर्छ, के समस्या छन्, स्पेसिफिक भएर ल्याउनुस्, तिनलाई सरकारले समाधान गर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै परिसंघ निवर्तमान अध्यक्ष अग्रवालले भने ।
छलफलमा चेम्बरले आयात निर्यात समस्या र अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको थियो ।
