दरौंदी खोला मोटरेबल पुलको निर्माण कार्य सम्पन्न
सहयात्रा टिभी
काठमाडौँ । असार २८, क्रोनिक योजनाको रूपमा रहेको दरौंदी खोला मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने उक्त पुलको आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
नयाँसाघुँ नारेश्वर हुदै गोरखा जोड्ने सडकखण्डमा रहेको उक्त पुलको कुल लम्बाई ७८ मिटर र चौडाई ८.४ मिटर रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । १५ करोड ६० लाखमा निर्माण भएको उक्त पुल स्टिल ट्रष्ट किसिमको रहेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए ।
उनका अनुसार पुल निर्माणका लागि एलिट कन्स्ट्रक्सन कम्पनीसँग २०७८ साल असार ७ गते सम्झौता भएको थियो । गत बर्षको असार महिनामै सम्पन्न हुनुपर्ने भएपनि काममा ढिलाइ भएको उनले जानकारी दिए ।
पुल उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले नयाँसाघुँबाट गोरखा सदरमुकाम जाने सबैभन्दा छोटो सडक भएकाले पुल निर्माणबाट धेरै लाभ लिन सकिने बताए । सडक स्तरोन्नती आवश्यक रहेको भन्दै त्यसका लागि पनि बजेट विनियोजन गर्ने उनले जानकारी गराए ।
शनिबार निर्धारित समय अगावै सम्पन्न दुई मोटरेबल पुलको उद्घाटन गरेका मुख्यमन्त्री पाण्डेले आइतबार भने समयमै काम सम्पन्न नभएको योजनाको उद्घाटन गरेका हुन् ।

