कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा चल्यो डोजर

सहयात्रा टिभी

काठमाडौँ । असार २९, कोशी अस्पताल विराटनगरको जग्गामा बनेका संरचनामा अस्पताल प्रशासनले डोजर चलाएको छ । अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएको सटरहरुमा अस्पताल प्रशासनले सोमबार बिहानै डोजर प्रयोग गरेर भत्काएको हो ।

विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए । व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइदिएको अस्पताल प्रशासनले जनाएको छ ।

सोमबार बिहानैदेखि मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली खटिएको छ । बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइँदैछ । यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए ।

मन्त्रीहरूको निर्देशनलगत्तै अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो । त्यसअघि संरचना खाली गर्न असार ५ गते १५ दिने सूचना निकालेको थियो । अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमा भित्रै अधिकांश व्यवसायीले आफ्ना सामानहरू सारिसकेका थिए ।

प्रकाशित : 13 July, 2026

प्रतिक्रिया दिनुहोस्