सप्तरीमा खुकुलो बनाइयो कर्फ्यु, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
सहयात्रा टिभी
काठमाडौँ । साउन १६, सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ। तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र आवश्यक सामान खरिद गरी आफ्नो निवासतर्फ फर्कनु भई कर्फ्युको पूर्ण पालना गर्नुहुन सबैमा जानकारी गराइन्छ ।’ सप्तरी प्रशासनले सो समयावधिभित्र हुलदङ्गा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा भइ उश्रृङ्खल गतिविधि गरे / गराइएको पाइएमा कानून बमोजिम कारवाही हुने जनाएको छ ।
सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो । प्रशासनले ९ बजेपछि पुनः कर्फ्युलाई पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न सबैमा आग्रह गरेको छ।
