देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

सहयात्रा टिभी

काठमाडौँ । साउन १८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

महाशाखाका अनुसार अहिले अहिले देशभर साधारणतया बदली भएको छ। काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ।

आज दिउँसो बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ ।

 

प्रकाशित : 3 August, 2026

प्रतिक्रिया दिनुहोस्