ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता अनुशासन कायम गर्न निर्देशन
सहयात्रा टिभी
काठमाडौँ । साउन २४, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उनले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण आम संगठनले बदनामी भोग्न नहुने बताए ।
उनले कतिपय ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि चिट नकाटी पैसा लिएर मात्रै छाड्ने गरेको गुनासो आएको बताए ।
उनले संगठनमा अब यस्ता कुरा अस्वीकार्य हुने बताउँदै प्रहरी कर्मचारीले बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए ।
ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उनको भनाइ छ ।
उनले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताए । उनले राष्ट्रिय यातायात नीति २०८३ मा सुधारका विषय समेटिएकोले अब त्यसलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।
जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गर्ने उनको भनाइ छ । उनले ट्राफिक नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

