रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । साउन २८, अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् । कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएका थिए ।

गएराति घटनास्थलमा प्रहरी टोली पुगेको थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ घरगोठ क्षति पुगेको छ ।

प्रकाशित : 13 August, 2026

प्रतिक्रिया दिनुहोस्