एल निनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
सहयात्रा टिभी
काठमाडौँ । साउन २९, अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (ल्इब्ब्) ले विकसित भइरहेको ‘सुपर एल निनो’ अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ ।
बिहीबार सार्वजनिक पूर्वानुमानअनुसार यो एल निनो इतिहासकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना करिब ७० प्रतिशत छ । यसअघि यसलाई ‘ऐतिहासिक रेकर्डमा सबैभन्दा ठूला एल निनोमध्ये एक’ हुने अनुमान गरिएको थियो ।
पछिल्लो पूर्वानुमान परिवर्तन हुनुको मुख्य कारण एल निनोको तीव्र गतिमा भइरहेको विकास र विभिन्न कम्प्युटर मोडलले यसको उत्कर्ष यसअघि अनुमान गरिएभन्दा बलियो हुने देखाउनु हो ।
एनओएएका अनुसार यो घटना शरद ऋतुको अन्त्यदेखि जाडोको सुरुवातसम्म उत्कर्षमा पुग्नेछ ।
एनओएएले एल निनोको तीव्रताको अभिलेख सन् १९५० देखि राख्दै आएको छ । पछिल्लो प्रक्षेपणअनुसार यसपटकको एल निनोले सन् १९८२–८३ मा बनेको शक्तिशाली एल निनोको रेकर्डसमेत तोड्न सक्छ ।
एल निनो हुँदा मध्य तथा पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम औसतभन्दा असामान्य रूपमा बढ्छ । समुद्रको तातो पानीका कारण ठूलो मात्रामा ताप वायुमण्डलमा पुग्छ र यसले विश्वभरका मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ ।
एनओएएका अनुसार यसपटक प्रशान्त महासागर क्षेत्रमा समुद्री सतहको तापक्रम औसतभन्दा २.५ डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्ने अनुमान छ । यस्तो तापक्रम तीन महिनाको औसतका आधारमा मापन गरिन्छ, जसले छोटो अवधिका उतारचढावलाई कम गर्छ ।
एल निनोका कारण इन्डोनेसिया र अस्ट्रेलियामा खडेरी तथा दक्षिण अमेरिकाका केही क्षेत्रमा अत्यधिक वर्षा र बाढीको जोखिम बढ्ने गर्छ । यसको प्रभाव विश्वका अन्य क्षेत्रमा पनि फरक–फरक रूपमा देखिन सक्छ ।

