विशेष महाधिवेशनको पक्षमा पनि थिइनँ, सर्वोच्चबाट न्याय पाउनेमा विश्वस्त छु : देउवा

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफूलाई न्याय दिनेमा पूर्ण विश्वास रहेको बताएका छन्।

महाराजगन्जस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले अदालतमा मुद्दा विचाराधीन रहेकाले यस विषयमा अहिल्यै धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन्। कांग्रेसभित्र उठेको विशेष महाधिवेशनको प्रसङ्गमा बोल्दै उनले आफू त्यसको पक्षमा नरहेको र त्यसको आवश्यकतासमेत नदेखेको प्रस्ट पारे।

“विशेष महाधिवेशनको आवश्यकता मैले देखिनँ र म त्यसको पक्षमा पनि थिइनँ। अहिले पार्टीको विवाद सर्वोच्च अदालतमा पुगेको छ,” देउवाले भने, “मुद्दा अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु मुनासिब हुँदैन। तर, अदालतले मलाई न्याय दिनेछ भन्नेमा म विश्वस्त छु।”

कुराकानीका क्रममा पूर्वसभापति देउवाले लोकतन्त्रको रक्षाका लागि प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता अपरिहार्य रहेको कुरामा समेत जोड दिएका थिए।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशसँगको आफ्नो गहिरो सम्बन्ध र त्यहाँका जनताको साथलाई स्मरण गर्दै उनले आभार प्रकट गरे। सुदूरपश्चिमले आफूलाई धेरै कुरा दिएको भन्दै उनले त्यहाँको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए। “सुदूरपश्चिमका जनताले मलाई सधैं सहयोग गरेका छन्, उहाँहरूप्रति म आभारी छु। म जहाँ भए पनि सुदूरपश्चिमका लागि गर्नुपर्ने कतिपय काम अझै बाँकी छन्, जसलाई मैले पूरा गर्नु छ,” देउवाले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : 15 August, 2026

प्रतिक्रिया दिनुहोस्