मकवानपुर जुरिखेत जिप दुर्घटनामा घाइते सबैको पहिचान खुल्यो
सहयात्रा टिभी
काठमाडौँ । भदौ २, मकवानपुरको जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएका सबै जनाको पहिचान खुलेको छ ।
घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी (५७), रजिष्ट्रार तारादत्त बडू (५७), बडूका श्रीमती लक्ष्मी बडू (४९), छोरा रितेन्द्र बडू (२५) र दिदी रिता बडू (३१) रहेका छन् ।
दाङको राप्ती नगरपालिका९८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।
मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ जुरीखेलमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार जिप चालक चौधरी र रजिष्टार बडूलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य ४ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी अस्पताल काठमाडौ पठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत पुगेको थियो ।
दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

