किरण थापालाई बागमती प्रदेश एमाले सरकारको मुख्यमन्त्री बनाउने
सहयात्रा टिभी
काठमाडौँ । भदौ २, नेकपा एमालेले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
केहीबेरअघि बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।
मुख्यमन्त्रीको कुर्सीका लागि एमाले नेताहरू बीच विवाद चर्किरहेको बेला संसदीय दलको बैठकले टुंग्याएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमालेले पाएको हो।
मुख्यमन्त्री आफ्नो भागमा परेसँगै एमालेमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने सन्दर्भमा नेताहरूबीच तीव्र प्रतिस्पर्धा, खिचातानी र आन्तरिक संघर्ष चलेको थियो।
मुख्यमन्त्री बन्ने पक्कापक्की भएका थापा भक्तपुरबाट निर्वाचित सांसद हुन्। थपलिया र थापाबीच मुख्यमन्त्रीका विषयमा प्रतिस्पर्धा चलेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले निरन्तर छलफल गरेका थिए।

