डिभिजन २ मा नेपालको अबको बाटो!
काठमाण्डौँ । फाल्गुण १, नामिबियामा आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू चलिरहेको छ । यस प्रतियोगिताको शीर्ष दुईमा पर्ने टिमले जिम्वावेमा हुने विश्वकपको क्वालिफायरमा सहभागी हुन पाउने छ भने पाँचौ र छैटौँ हुने टिम डिभिजन थ्री मा झर्ने छन् र तेस्रो र चौथो हुने टिम डिभिजन टू मा नै रहने छ । सोमबारको खेलबाट हार ब्यहोरेपछि केन्या र ओमान एक खेल अगाडि नै शीर्ष दुईको होडबाट बाहिरी सकेका छन भने बाकी चार टिमहरु क्यानडा, नेपाल, यूएइ र नामिबिया अन्तिम खेल बाकी रहँदा शीर्ष दुइको लागि दाबेदारी दिइ रहेका छन् ।
नेपाल अहिले सम्म ४ खेल खेल्दा ३ विजय र १ पराजय भोगेर अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने एक खेल खेल्न बाकी रहेको छ । नेपालले अर्को खेल अंकतालिकाको शीर्ष स्थानमा रहेको क्यानडा सँग खेल्ने छ । उक्त खेलमा नेपालले क्यानडालाई पराजित गर्न सके अर्को महिना जिम्वावेमा हुने क्वालिफायरमा स्थान पक्का हुनेछ तर पराजय भएमा अन्य टिमहरुको खेल समीकरणमा निर्भर रहनुपर्ने हुन्छ । आज हुने नामिबिया र केन्या बीचको खेलले खेललाई थप रोचक बनाउने छ किनभने आजको खेलमा नामिबिया बिजयी भए उसको नेपाल र क्यानडा समान ६ अंक हुने छ , जसले रनरेट कमजोर भएको नेपाललाई क्यानडासँग हार भएको खण्डमा अफ्ठ्यारो पार्ने छ । त्यसै गरी भोली अर्को खेल नामिबिया र युएई बीच हुदै छ । यदि नामिबियाले अबको दुबै खेल जित्ने र नेपाल क्यानडा सँग परानित हुने हो भने नेपाल शीर्ष दुइमा अटाउने छैन तर नामिवियाले केन्या सँग हारेर युएइलाई जित्नेहो भने र यता नेपाल क्यानडा सँग पराजित भएमा रनरेटको को आधारमा शीर्ष दुइको छनोट हुने छ । शुरुवात देखि नै ब्याटिङ्मा फितलो प्रदर्शन गरिरहेको नेपालको रनरेट राम्रो छैन ।