काठमाडौँमा छोरा हत्या भएलगत्तै दाङको घरमा रहेकी आमाको मृत्यु
सहयात्रा टिभी
काठमाडौँ । भदौ ७, दुई छोरालाई पढाउन र श्रीमतीसहित परिवारको खर्च धान्न रोजगारीका लागि मलेसिया पुगेका दाङको घोराही नगरपालिका वडा नं १७ मा स्थायी घर भएका रोमहर्श कालाथोकी एकैपटक दुईवटा चोटमा परेका छन् ।
विदेश जाने तयारीका लागि काठमाडौँको होस्टलमा बसेर अध्ययन गरिरहेका जेठो छोरा बसन्त कालाथोकीको हत्या भएलगत्तै दाङको घरमा रहेकी उनकी श्रीमतीको मृत्यु भएको छ ।
दुई दिनअघि काठमाडौँ महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलभित्र धारिलो हतियार प्रहार गरेर रोमहर्शका जेठा छोरा २२ वर्षका वसन्त कालाथोकीको हत्या भएको थियो । त्यसको सूचना पाएलगत्तै घरमा रहेकी उनकी आमा ३८ वर्षीय बिना कालाथोकीको मृत्यु भएको हो ।
छोरा र पत्नी एकसाथ बितेको खबर पाएपछि रोमहर्श सोमबार मलेसियाबाट फर्कन लागेको उनका छिमेकी सोही वडाका दुर्गा खत्रीले नेपाल प्रेसलाई बताए । बिनाको घोराहीको हरिद्वारस्थित जनप्रिय टोलस्थित घरमा नै छोराको घटनाको केही समयमा मृत्यु भएको हो ।
‘काठमाडौँमा २२ वर्षीय छोराको विभत्स हत्या भएको खबर स्थानीयले तुरुन्तै सुनाइदिएछन्, उहाँले सहन सक्नुभएन,’ खत्रीले भने ।
घरमा ११ वर्षको कान्छो छोरा र उनकी आमा बिना मात्रै बस्थे । अहिले बिनाको शव घोराही अस्पतालमा राखिएको छ। पोस्टमार्टम अझै भएको छैन ।
श्रीमान आएपछि मात्रै पोस्टमार्टम गर्ने भनेको छ । छोराको शव काठमाडौंमा छ । रोमहर्शको सोमबार फर्कने टिकट बनेको छ मलेसियाबाट । टोलछिमेक शोकमा छ ।
छोराको हत्याको खबर सुन्नासाथ दिउँसो ३ बजेतिर घरमा बिनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको मृत्युको खबर पाउनासाथ त्यहाँको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
टोलीले कानुनी प्रक्रिया पूरा गरी सोही दिन नै शव पोस्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । शव अहिले प्रतिष्ठानको शवगृहमै राखिएको छ।
घोराही १७ का वडाध्यक्ष रामलौटन चौधरीले पढ्ने, विदेश जाने तयारी गरेको आफ्नो छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमा बिनाले पीडा सहन नसकेर एक्लै घरमा रहेको अवस्थामा प्राण त्यागेको बताए । घरमा भएका ११ वर्षका कान्छा छोरालाई हजुरबुवाको साथमा राखिएको उनले जानकारी दिए ।
‘श्रीमान मलेसियाबाट फर्कने सोमबार मात्रै भएकाले सबै काम रोकिएको छ, आमासँग रहेका कान्छो छोरा शिशिरलाई नजिकै बस्ने उनको हजुरबुवा घरमा राखिएको छ,’ उनले भने, ‘घरमा एक्लै रहेको अवस्थामा झ्वाट्ट यस्तो खबर सुनाउनु हुन्थेन ।’
वसन्त रोजगारीका लागि फ्रान्स जान काठमाडौंको होस्टलमा बसेर भाषासहितको तयारी गरिरहेको र घरमा जाने-आउने गरिरहेको स्थानीय बताउँछन् ।
वसन्तमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा त्यही होस्टलमा बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन् ।
प्रमित र शेखरले वसन्तको टाउको र घाँटी लगायतका भागमा प्रहार गरेपछि उनलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको हो । वसन्तको हत्याका आरोपी शेखर यादवलाई काठमाडौँबाटै र प्रमित पटेललाई शनिबार मकवानपुरबाट प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
प्युठानको बेलवासबाट कालाथोकी परिवार बसाई सरेर घोराही आएको हो । परिवारको आर्थिक अवस्था सामान्य रहेको छ ।

