ग्लोबल आईएमई बैंकले बाढी प्रभावितलाई ५ करोड सहयोगको घोषणा
सहयात्रा टिभी
काठमाडौँ । भदौ ११ , ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।
बैंकका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान भएको छ ।
बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
साथै, बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ ।
बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ । यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको थियो ।

