त्रिशूली नदीमा आएको बाढीले चार वटा घर बगायो
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , धादिङको गल्छी गाउँपालिका(४ चिरौदीमा त्रिशूली नदीमा आएको बाढीले चार वटा घर बगाएको छ।
आइतबार बिहान भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाब बढेपछि नदी आसपासका घर भत्किएका हुन्।
धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार त्रिशूली नदीको बहाब बढेपछि नदीले कटान गर्दा चिरौदीमा रहेका चारवटा घर बगाएको हो।
बाढीका कारण सोही क्षेत्रका थप ५ देखि ६ वटा घरसमेत जोखिममा परेका छन्। एसपी खड्काले बगिसकेका चार घरसहित थप घरहरू पनि नदीले कटान गरिरहेको जानकारी आएको बताए।
उनका अनुसार बाढीबाट क्षति भएका घरधनी र क्षतिको विस्तृत विवरण भने संकलन भइसकेको छैन। गत बुधबार भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदी आसपासका बस्ती उच्च जोखिममा परेका थिए।
त्यतिबेला जोखिममा परेका घरहरूमा आइतबार बिहान नदीको बहाब थप बढेपछि क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नदीको बहाव र कटानका कारण चिरौदी क्षेत्रमा थप क्षति हुन सक्ने भएकाले जोखिममा रहेका घर तथा बस्तीको अवस्थाबारे विवरण संकलन तथा निगरानी भइरहेको छ।

