घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ ।

ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबीच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो ।

१४ भदौमा कृष्णभिरमा सडक भासिएका कारण ग्यास आपूर्ति शृङ्खलामा गम्भीर असर परेको निष्कर्ष निकाल्दै बैठकले उपत्यकामा ग्यास हाहाकार हुन नदिन वैकल्पिक उपाय अघि सारेको छ ।

राजमार्ग अवरुद्ध भई ग्यास बुलेट काठमाडौं आउन नसकेपछि अब काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने एलपी ग्यास उद्योगहरूले हाललाई तराईका उद्योगहरूमा नै ग्यास सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।

यसरी कठिन परिस्थितिमा ल्याइएको ग्यास विक्रेताहरूले समानुपातिक र सहज रूपमा वितरण गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार सुरुमा तराईबाट ग्यास ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको छ ।

 

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्