सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी
सहयात्रा टिभी
काठमाडौँ । भदौ १८, सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको छ ।
आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
नयाँ बनेको भवनको अभिलेख शाखामा बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने कर्मचारीहरूको अनुमान छ ।
आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नगरेको प्रवक्ता कोइरालाले बताए । उनका अनुसार, आगोले अभिलेख शाखा रहेको कोठाबाट अन्यत्र असर गरेको छैन ।
अदालतहरूले फैसला भइसकेका मुद्दा र त्यसका कागजात भण्डारण गर्न अभिलेख शाखा बनाएका हुन्छन् ।
निश्चित समयपछि अभिलेख शाखाबाट मुद्दाका अरू मिसिलहरू नष्ट गरी फैसलाहरू मात्रै सुरक्षित गरिन्छ ।
नयाँ भवन बनाउने क्रम चलिरहेकाले निर्माणाधिन अभिलेख शाखामा काम नलाग्ने र प्रयोगविहिन फाइल र कागजात मात्रै राखिएको प्रवक्ता कोइरालाले बताए ।
गत भदौ २४ को आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवनबाट आफ्नो काम सञ्चालन गरिरहेको छ । अहिले निर्माणाधिन भवनको एउटा भागमा इजलास र प्रशासन सरेको छ ।

