धादिङको फुर्केखोलामा बेलिब्रिज राख्नेबारे परामर्श सुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, धादिङको फुर्केखोला पुलमा पिलरबिनाको बेलिब्रिज राख्नेबारे परामर्श अघि बढाइएको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले चिनियाँ विशेषज्ञहरूसँग यसबारे परामर्श भइरहेको जानकारी दिएका हुन् ।

विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार पृथ्वी राजमार्गको स्थलगत अनुगमनका क्रममा यसबारे जानकारी गराएका हुन् ।

‘त्यहाँ (फुर्केखोला पुल) को ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलिब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ,’ डा. जैसीले भने, ‘चीनबाट आएको १०० मिटरको पुल त्यहाँ जडान गर्न सकिएमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ ।’

सडक विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उल्लेख गर्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काइने प्रतिवद्धता व्यक्त गरे ।

देशभरका करिव १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्न चुनौती भएपनि स्रोत र साधनले भ्याएसम्म विभाग २४ सै घण्टा खटिएको उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले पनि कृष्णभिरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ ।

सडक विभागले जनसाधारणलाई धैर्य गर्न अनुरोध गर्दै सुरक्षित सडक सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

प्रकाशित : 6 September, 2026

प्रतिक्रिया दिनुहोस्