भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एकको शव फेला
सहयात्रा टिभी
काठमाडौँ । भदौ २३, रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला परेको छ।
भोटेकोसी बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा आज भदौ (२३ गते) दिउँसो ३ बजे एक जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।
संयुक्त टोलीले रसुवा भोटेकोसी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव फेला पारेको हो।
सेनाले सबै सुरुङमा भइरहेको खोज, उद्धार तथा राहत वितरण लगायतका गतिविधिबारे जानकारी दिएको छ।
नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट २० जनाको उद्धार गरिएको र हालसम्म हवाई साधन मार्फत ४०४० ९स्वदेशी(३७५७ र विदेशी(२८३० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
यस्तै, लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको छ।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशुली १ मा विदेशी सहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ।
नुवाकोट जिल्ला, विदुर न.पा.(५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियरिङ फौजबाट खट्टिएको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ।
नेपाली सेनाका इन्जिनियरबाट ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको परामर्श सहित कार्य सुरु भएको छ।
प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको छ। साथै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज जम्मा ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेको छ।

