सोलुखुम्बुको हुङ्कु खोला पहिरोका कारण थुनियो 

सहयात्रा टिभी

काठमाडौँ । भदौ २६, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्‍गा (हुङ्कु) खोला पहिरोका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो ।

गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, वडा नम्बर – २ तर्फ पर्ने क्षेत्रमा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो ।

जसका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार बिहानबाट बनेको ड्याममाथिबाट विस्तारै पानी बग्न थालेको छ । तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाइएको उनले बताए ।

प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीयबासी तथा नजिकै रहेका दुई वटा हाइड्रोपावर आयोजनालाई सतर्क रहन आग्रह गरेको छ ।घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण(पूर्वमा पर्छ ।

पहिरोले खोला थुनिएपछि बनेको यो कृत्रिम ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम भने टरिसकेको छैन ।

ड्याम फुटेमा हुङ्‍गा खोलाको पानी तल्लो तटीय क्षेत्र हुँदै सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका हुँदै खोटाङ र ओखलढुङ्गा जिल्लाको दुधकोशी नदीसम्म प्रभाव पार्न सक्ने बताइएको छ ।

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार पहिरोको माथिबाट पानी बग्न थालेका कारण ठूलो जोखिम भने नरहेको बताउँछन् ।

 

प्रकाशित : 11 September, 2026

प्रतिक्रिया दिनुहोस्