बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान जारी गरेको अद्यावधिक विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै केही खण्डमा एकतर्फी मात्र गाडी सञ्चालन भइरहेका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सोही राजमार्गकै बेनीघाट रोराङ-१० जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। चितवनको बेनीघाट रोराङ-१० जवाङखोला खण्डमा सडक मर्मतपछि एकतर्फी गाडी चलिरहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पूर्ण अवरुद्ध छ भने जिल्लाका अन्य मुख्य राजमार्गसमेत बन्द रहेका छन्। नुवाकोटको बेत्रावती-१० सिमटारमा आएको बाढीले पासाङ ल्हामु सडक खण्ड ठप्प पारेको छ।

टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोला क्षेत्रमा सम्भावित बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समय (राति १० देखि बिहान ५ बजेसम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गको काभ्रे खण्ड (खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी) मा भने अवस्था हेरेर बिहान ४ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालन गर्न दिइएको छ। उता कर्णाली प्रदेशअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 12 September, 2026

प्रतिक्रिया दिनुहोस्