एडीबीले नेपालको तीन राजमार्ग विस्तार र सुधार गर्न ४७ अर्ब दिँदै
सहयात्रा टिभी
काठमाडौँ । असोज ४, एसियाली विकास बैंक (एडीबी)ले नेपालको तीनवटा राजमार्गको विस्तार र सुधारका लागि करिब ४७ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।
दुईवटाको विस्तार र अर्को एक राजमार्गको सडक सुरक्षाका लागि साढे ३० करोड अमेरिकी डलर (करिब ४६ अर्ब ७० करोड रुपैयाँ) उपलब्ध गराउने भएको हो।
उक्त रकममध्ये २८ करोड ५० लाख अमेरिकी डलर ऋण हुनेछ भने बाँकी २ करोड अमेरिकी डलर अनुदानस्वरुप प्राप्त हुने सडक विभागले जनाएको छ।
एडीबीले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–हेटौंडा सडक खण्ड र पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्ड विस्तार तथा कर्णाली राजमार्गको सडक सुधारको लागि उक्त रकम दिन लागेको हो।
जसमा २४ करोड ५० लाख डलर नारायणघाट–हेटौंडा सडक खण्ड र ३ करोड डलर मुग्लिङ–आँबुखैरेनी सडक खण्ड विस्तारमा खर्च गरिनेछ भने बाँकी १ करोड डलर कर्णाली राजमार्ग सुधारका लागि उपयोग हुनेछ।
ऋण र अनुदान रकमको सम्बन्धमा नेपाल सरकार र एडीबीबीच वार्ता भइसकेको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए। अर्थ मन्त्रालय र एडीबीबीच ऋणसम्बन्धी सम्झौता आगामी नोभेम्बरमा हुने कार्यतालिका छ।

