कार्यविभाजन र कमिटीहरू टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज ८, नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको तेस्रो बैठककै बीच पार्टीले सचिवालयको बैठक बोलाएको छ। नेताहरूको कार्यविभाजन टुंग्याउने तथा संगठनात्मक संरचनालाई पूर्णता दिने उद्देश्यका साथ सचिवालय बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

सचिवालय बैठक सकिएलगत्तै दिउँसो १२ : ३० बजेदेखि केन्द्रीय कमिटीको बैठक पुनः सुरु हुने कार्यतालिका छ। पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्ताव पहिले सचिवालयबाट पारित गरेर त्यसलाई अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेस गर्ने तयारी गरिएको छ।

एमालेको ११ औं महाधिवेशन सम्पन्न भएयता केन्द्रीय कमिटी सदस्यहरूको ठोस कार्यविभाजन हुन सकेको थिएन। आज बस्ने सचिवालय बैठकले स्थायी कमिटी र पोलिट्ब्यूरो सदस्यहरूको टुंगो लगाउने मुख्य कार्यसूची तय गरेको छ।

यसका साथै लामो समयदेखि रिक्त रहेका पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तथा भौगोलिक एवं गैरभौगोलिक कमिटीहरूमा सहइञ्चार्जहरू तोक्ने विषयमा पनि बैठकमा निर्णय हुनेछ। बैठकमा हालै सम्पन्न निर्वाचन समीक्षा प्रतिवेदनबाट प्राप्त सुझावहरूका आधारमा केही पार्टी कमिटी तथा जनसंगठनहरूको पुनर्गठन र व्यवस्थापनबारे समेत आवश्यक छलफल हुने बताइएको छ।

प्रकाशित : 24 September, 2026

प्रतिक्रिया दिनुहोस्