कांग्रेसलाई भारत, चीन, स्पेनसहित ६ देशबाट शुभकामना प्राप्त
सहयात्रा टिभी
काठमाडौँ । असोज १८, भारत ,चीन, स्पेन ,बंगलादेशसहित ६ देशका पार्टीका नेताहरूबाट नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलताको शुभकामना प्राप्त भएका छन् ।

लिखित शुभकामना सन्देश दिनेहरूमा भारत सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कंग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत छन् ।
उनीहरूले नेपाली कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धको निरन्तरता र थप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् । भाजपाको पत्रमा हालै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनामा भारतको सहयोग जारी रहने पनि उल्लेख छ ।
यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीले पनि कांग्रेस महाधिवेशन सफलताको शुभकामना दिएको छ । चीनले पनि दुई देशका पार्टी र जनताको तहमा सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेको छ ।
कांग्रेस समेत सदस्य रहेको सोसलिस्ट इन्टरनेसनलका सभापति पेड्रो सान्चेजले पनि कांग्रेसलाई शुभकामना सन्देश दिएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
पेड्रो सान्चेज स्पेनका प्रधानमन्त्री समेत हुन् । तर उनले प्रधानमन्त्रीको रुपमा नभई सोसलिस्ट इन्टरनेसनलको रुपमा शुभकामना सन्देश पठाएका छन् ।
सान्चेजले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन चाहेको भए पनि पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको उल्लेख गरेका छन् ।
महाधिवेशनले नेपालमा लोकतान्त्रिक तथा प्रगतिशील शक्तिलाई बलियो बनाउने अवसर प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालमा हालै आएको विनाशकारी बाढीप्रति गहिरो दुस्ख व्यक्त गर्दै उनले बाढी प्रभावितहरुप्रति सहानुभूति व्यक्त गरेका छन् । बाढीको घटनालाई जलवायु परिवर्तनका विनाशकारी असरप्रति विश्वव्यापी चेतावनीका रूपमा उल्लेख गर्दै उनले त्यसको सामना गर्न सामूहिक प्रयास बढाउनुपर्ने उल्लेख गरेका छन् ।
कठिन परिस्थितिमा नेपाली जनताले सामना गरिरहेको चुनौती र नेपाली कांग्रेसले समुदायलाई सहयोग गर्दै लोकतन्त्र तथा सामाजिक प्रगतिका लागि काम गरिरहेको भन्दै उनले प्रशंसा समेत गरेका छन् ।
यसैगरी बंगलादेशका प्रधानमन्त्री तारेक रहमान, दक्षिण कोरियाको आइक्याप स्ट्यान्डिङ कमिटीका अध्यक्ष चुङ उई योङ र बेलायतको लेबर पार्टीले पनि कांग्रेसको १५ औं महाधिवेशन सफलताको लिखित शुभकामना दिएका छन् ।
