अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता
सहयात्रा टिभी
काठमाडौँ । असोज २०, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकामा रहेका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसी मा भेटवार्ता भएको हो।

भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे घनीभूत छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो । उक्त भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।
