स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र खोल्ने सरकारको तयारी
सहयात्रा टिभी
काठमाडौँ । असोज २१, सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नेगरी कार्यविधि तयार पारेको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनरस्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार पारेको हो ।
कार्यविधिअनुसार स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना हुने भनिएको छ । जसअनुसार घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
दिवा सेवा केन्द्रलाई कम्तीमा हप्ताको पाँच दिन सञ्चालनमा राख्नुपर्ने व्यवस्था गरिएको छ । केन्द्रहरू ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने र शौचालय, भान्सा, र्याम्प, आवतजावत गर्ने स्थानमा समाउने रेलिङ तथा आवश्यक अन्य संरचना व्यवस्थित गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ । उनीहरूको स्वास्थ्य उपचारका लागि कम्तीमा महिनामा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउने, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्ने र आवश्यकताअनुसार स्वास्थ्यलगायत अन्य परामर्श सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, सेवा लिने ज्येष्ठ नागरिकको इच्छाअनुसार कम्तीमा तीन महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल, पार्क, वनभोज वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउन सकिने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ ।
कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र जीवनअनुभवलाई नयाँ पुस्तासँग हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ । यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रम संघीय सरकारबाट स्थानीय तहमा उपलब्ध गराइने सशर्त अनुदानमार्फत सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ । अनुदान रकम सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभए बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था छ ।
