जनआस्थाका सम्पादक किशोर श्रेष्ठ साइबर ब्युरोमा, हिमेश पन्तसँगै राखेर छलफल गराइने
सहयात्रा टिभी
काठमाडौँ । असोज ३१, जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले ‘छलफलका लागि’ भन्दै कार्यालय पुर्याएको छ।

ब्युरोको टोलीले आज बिहान श्रेष्ठलाई ललितपुरको नख्खुस्थित उनकै निवासबाट कार्यालयतर्फ लगेको हो। उनीविरुद्ध परेको ठाडो निवेदनमाथि बुझ्नका लागि उपस्थित गराइएको साइबर ब्युरो स्रोतले जनाएको छ।
प्रकाशित एक समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले श्रेष्ठविरुद्ध ब्युरोमा उजुरी दिएका थिए। त्यसलगत्तै पत्रकार श्रेष्ठले पनि पन्तविरुद्ध नै उल्टै निवेदन दिएका थिए। दुवै पक्षका परस्पर उजुरी परेपछि ब्युरोले श्रेष्ठ र पन्त दुवैलाई आमनेसामने राखेर छलफल गराउने तयारी गरेको बुझिएको छ।
यसअघि पनि काठमाडौँ प्रहरीले गत साउन २७ गते श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यतिबेला उनको निवास र कार्यालयबाट प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका डिजिटल उपकरणहरू नियन्त्रणमा लिएको थियो।
तर, सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै उनलाई थुनामुक्त गरेर हाजिरी जमानी वा तारेखमा राखी अनुसन्धान गर्न परमादेश जारी भएको थियो। अदालतको सोही आदेशपछि उनी गत भदौ १ गते हिरासतमुक्त भएका थिए।
