पोसाक खरिद सम्बन्धमा प्रहरीले बुझायो एक बोरा विवरण

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिद सम्बन्धमा उठेको प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ ।

बिहीबार बसेको उपसमितिको बैठकले यही कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधिसमेत तय गरेको छ ।

‘सार्वजनिक रूपमा उठेका प्रश्नहरूका सम्बन्धमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट विवरण प्राप्त भएको छ,’ उपसमितिका एक सदस्यले अनलाइनखबरसँग भने, ‘डकुमेन्ट चाङका चाङ छन् । बोरामै आएको थियो ।’

उनका अनुसार उक्त एक बोरा विवरण उपसमितिको सचिवालयमै रहेर अध्ययन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

उनी भन्छन्, ‘कात्तिक ३० गतेसम्म प्रारम्भिक अध्ययन सकौं भन्ने छ । हेरौं, के कति सकिन्छ ।’ नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो ।

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । दुवैतर्फ गरी एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएका थिए ।

निर्वाचन प्रहरीका लागि भूगोलअनुसार प्रतिव्यक्ति न्यूनतम ५० हजार ९५४ रुपैयाँदेखि अधिकतम ८६ हजार ४८४ रुपैयाँ खर्च भएको थियो । उनीहरूले ४० दिनको पारिश्रमिक, रासन, यातायात खर्च र खाजा खर्च वापत रकम पाएका थिए ।

सरकारले निर्वाचन प्रहरीलाई पोसाक वापत रकम उपलब्ध गराएको थियो । हिमाली भेगमा खटिनेले ११ हजार ५००, पहाडमा ७ हजार ९४५ र तराईमा खटिने प्रहरीका लागि ६ हजार १७० रुपैयाँका दरले रकम छुट्याइएको थियो ।

प्रकाशित : 29 October, 2026

प्रतिक्रिया दिनुहोस्