संखुवासभामा एक जना कैदीको उपचारका क्रममा मृत्यु
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १५, सङ्खुवासभा जिल्ला कारागार खादबारीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला कारागारमा खादबारीमा कैद भुक्तान गरिएका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिए।
चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको जेलर श्रेष्ठको भनाइ छ।
ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको थियो।
कैद भुक्तान गरिरहेका राईलाई श्रीमती र कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राई सहितको प्रहरी टोलीले थप उपचारका लागि सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगेको थियो।
कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको राईलाई चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका हुन्।
राईलाई जिल्ला अदालत चैनपुरले २०८३ वैशाख ४ गते कारागार चलान गरिएको थियो। जिल्ला कारागारमा १० जना कैदी बन्दी नियमित औषधि सेवन गर्दै आएका छन् । जिल्ला कारागारमा ७ महिलासहित १५१ जना कैदी बन्दी रहेका छन्।
