उपराष्ट्रपति भान्सलाई ट्रम्पको जवाफ–इरानलाई परमाणु हतियार बनाउन दिन सकिँदैन
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १९, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरानसँगको युद्ध भएको बताएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले बुधबार डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्न आफू तयार रहेको तर उनीहरूले अवरोध सिर्जना गर्न नहुने बताएका छन् । उनले भने, ‘म डेमोक्रेटहरूसँग मिलेर काम गर्नेछु, जबसम्म उनीहरूले अवरोध गर्ने प्रयास गर्दैनन् । उनीहरूसँग भिटोको शक्ति छ, त्यसैले हामीलाई उनीहरूको व्यवहार मन पर्दैन । तर उनीहरूले फोन गरिसकेका छन् र केही विषयमा छलफल गर्न चाहेका छन् ।’
इरानसँगको युद्धका कारण केही समयका लागि पेट्रोलको मूल्य बढेको स्वीकार गर्दै ट्रम्पले त्यसका बाबजुद पनि आफूले फेरि त्यस्तै निर्णय गर्ने बताए । मलाई लाग्छ, यो कुरा धेरै हदसम्म सही हो । युद्धका कारण केही समय पेट्रोलको मूल्य बढ्यो । तर पनि, यदि मैले फेरि यस्तो निर्णय गर्नुपरेमा गर्नेछु । किनकि दीर्घकालीन रूपमा यही नै एकमात्र बाटो हो उनले भने । इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘तपाईं इरानलाई परमाणु हतियार हासिल गर्न दिन सक्नुहुन्न । तपाईंसँग अर्को विकल्प छैन । तेलको मूल्य यसभन्दा धेरै बढ्ने अनुमान गरेको थिएँ र त्यही आधारमा मैले निर्णय लिएको हुँ । यो गर्नैपर्छ,’ ट्रम्पले भने । उनले थपे, ‘इरानलाई परमाणु हतियार प्राप्त गर्न दिनु हुँदैन । अन्यथा, आज तपाईंले यहाँ जे देखिरहनुभएको छ, भोलि त्यसको अस्तित्व नै नहुन सक्छ ।
