पोखराको बाल सुधारगृह बाटै फेरि एक बालबन्दी फरार
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २९, कहिले झडप र आगजनी त कहिले बालबन्दी नै फरार हुने घटना पोखरा महानगरपालिका–१८ को बाल सुधारगृहमा दोहोरिइरहन्छ ।

देशभरका कारागार र बाल सुधा गृहहरू जेनजी आन्दोलनमा अशान्त बन्दा धेरै कैदीबन्दी फरार भए । पोखराको प्रमुख बजारभन्दा अलि पर सराङकोटको एकान्त ठाउँमा रहेको बाल सुधारगृहमा बाहिरबाटै हतियारधारी पुगे र जेनजी आन्दोलनका क्रममा भदौ २४ गते १०९ जना बालबन्दीलाई भगाइदिए ।
बाल सुधारगृह सराङकोटका प्रमुख डाँसीराम रेग्मीका अनुसार जेनजी आन्दोलनमा भागेका ८ जना अझै फरार छन् । बाल सुधारगृहबाट आइतबार बिहान फेरि एक जना बालबन्दी फरार भएका छन् ।
बाल सुधारगृहको अघिल्तिरबाट पक्की सडक छ भने पछाडिको भागतर्फ जंगल पर्छ । बाल सुधारगृहको तारबार नाघेर जंगलतिरबाट प्रहरीको आँखैअघि ती बन्दी फरार भएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।
‘प्रहरीले सुरक्षा दिइरहेकै बेला १७ वर्षीय बालबन्दी तारबार नाघेर फरार भए । प्रहरीले पख(पख भन्दाभन्दै भागिहाले । हामीले जिल्ला प्रहरी, प्रशासन कार्यालयमा खबर गर्यौं,’ कार्यालय प्रमुख रेग्मीले भने ।
रामेछाप घर भई पोखरा आइपुगेका थापा थरका ती बालबन्दी २०८२ जेठ ४ गते बाल सुधारगृह चलान भएका हुन् । उनलाई दुई वटा चोरी मुद्दामा अदालतले बाल सुधारगृह पठाएको हो । एउटामा दुई वर्ष सजाय तोकिएको छ भने अर्कोमा पुर्पक्षको आदेश भएको छ ।
बिहान सुधारगृहको पछाडिपट्टि पर्खाल नाघेर फरार भएको र उनको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । उनी बिहान करिब ७ः१५ बजे सुधारगृहको पछाडिपट्टि पानी भर्ने क्रममा पर्खाल नाघेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा सिभिल प्रहरीसहित २० जनाको टोली खोजीमा खटिएको एसपी कार्कीले जानकारी दिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा थप ३० जना प्रहरी परिचालन गरिएको थियो । बिहान ९ बजे वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा १२ जनाको टोली पनि खोजीमा खटिएको छ ।
फरार बालबन्दीको खोजीका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट प्रहरी नायव निरीक्षक मिलन केसीको कमान्डमा कुकुरसहित तीन जनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार बालबन्दीको वर्ण गोरो, उचाइ करिब ५ फिट १ इन्च र शरीर मोटो छ । निधारमा खत भएका उनले फरार हुँदा खल्ती भएको कालो जिन्स पाइन्ट र निलो–कालो कोठे सर्ट लगाएका थिए ।
यसअघि पनि भागेका थिए यिनै बालबन्दी
यसअघि यिनै बालबन्दी उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । बिरामी परेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा प्रहरीलाई नै छक्याउँदै उनी भाग्न सफल भएका थिए ।
२०८२ पुस २४ गतेबाट फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए ।
उनलाई पक्राउ गरी सराङकोट लगिएको थियो । उनै बालबन्दी आइतबार फेरि भाग्न सफल भएका छन् । प्रहरीले उनलाई छिट्टै पक्राउ गर्ने दाबी गरेको छ ।
यी बालबन्दी पाँचथरमा पनि चोरी कसुर गरेरै पोखरा आइपुगेका थिए । पोखराको एक होटलमा काम गर्दागर्दै उनले फेरि चोरी गरेका थिए । चोरी मुद्दामा उनलाई पक्राउ गरी बाल सुधारगृह पठाइएको थियो ।
बाल सुधारगृह बेलाबेला बन्छ अशान्त
बाल सुधारगृहबाट २०८० जेठ २३ गते दिउँसै तीन जना बालबन्दी फरार भएका थिए । घटना सार्वजनिक हुनासाथ प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।
खोजीका क्रममा तीनमध्ये दुई जनालाई पोखरा–१८ कै सेदी क्षेत्रबाट पक्राउ गरी पुनः सुधारगृहमा ल्याइएको थियो । एक जना भने फरार नै थिए ।
पोखरास्थित बाल सुधारगृह बेलाबेला अशान्त हुने गरेको छ । २०८० फागुन ७ गते खाना खान लाइनमा बस्ने क्रममा गिलासको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो ।
बालबन्दीबीच भएको झडपमा चक्कु हानाहान नै भएको थियो र त्यो बेला तीन जना घाइते भएका थिए । सुधारगृहका नाइके र अन्य बालबन्दीबीच सुरु भएको विवाद बढ्दै जाँदा एक जनालाई भाँटाले प्रहार गरिएको थियो । त्यसपछि विवादले झडपको रूप लिएको थियो ।
सामान्य विषयमा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत हुनु र सुधारगृहभित्रै चक्कु तथा भाँटा जस्ता वस्तु प्रयोग हुनुले त्यहाँको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको थियो ।
बाल सुधारगृह बालबालिकाको सुधार र पुनस्र्थापनाका लागि सञ्चालन गरिने संस्था भए पनि पटकपटक यस्ता घटना हुनुले त्यहाँको सुरक्षा निगरानी र व्यवस्थापनको अवस्थाबारे गम्भीर प्रश्न खडा गर्ने गरेको छ ।
बाल सुधारगृहमा २०७९ साल पुस र माघमा आगजनीका घटना भएका थिए । सुधार गृहभित्रै आगजनीका घटना हुनुले त्यहाँको आन्तरिक व्यवस्थापन, सुरक्षा निगरानी र बालबन्दीबीचको अवस्थाबारे प्रश्न उठाएको थियो ।
बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबन्दी राख्नुपर्ने, खाना र बासको राम्रो व्यवस्था नहुने लगायतका समस्याले यातनागृह जस्तो बनेको रिपोर्ट बेलाबेला सार्वजनिक हुने गरेको छ ।
बालबन्दी संख्याको तुलनामा सुरक्षाकर्मी निकै कम रहेको र सुधारगृहको आन्तरिक सुरक्षा नियन्त्रण कमजोर रहेको पाइएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का अनुसार अधिकांश कारागार र सुधारगृहमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । त्यसैको एउटा उदाहरणमध्ये सराङकोटको सुधारगृह पनि हो । जसका कारण कैदी तथा बन्दीहरूले आधारभूत अधिकारबाट वञ्चित हुनु परेको इन्सेकले जनाएको छ ।
