सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सहयात्रा टिभी
काठमाडौं । मंसिर १२, सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १ सय ६ पुरूष, ८४ महिला र १० बालबालिका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिइन् ।
उनले भनिन्, ‘अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन् । विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए । पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ ।!
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ । ‘कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ,’ उनले भनिन् ।
एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ । विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।
