नङ पालेरै गिनिज बुकमा किर्तिमान
एजेन्सी । जेठ–११, भारतका श्रीधर नामका एक व्यक्तिले नङ पालेर नै संसारको सबैभन्दा ठूलो नङ भएको व्यक्तिको रुपमा गिनिज बुकमा किर्तिमान राखेका छन् । सन् २०५२ देखि नङ नकाटेका श्रीधरलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले संसारको सबैभन्दा ठूलो नङ भएको व्यक्तिको रुपमा प्रमाणपत्र प्रदान गरेको छ ।
उनको हातका सबै नङ जोड्दा नौ सय नौ दशमलब ६ सेन्टिमिटर लामो हुन्छ । उनको सबैभन्दा लामो नङ भएको औँलाको नङ २ मिटर लामो छ ।
विद्यालयमा पढ्दा अन्जानबस एक शिक्षकको नङ भाँचिदिएर पिटाइ खाएका श्रीधरले त्यहि समयदेखि नङ पाल्ने अठोट गरेका थिए ।
नङ पाल्दा सुरुसुरुमा काम गर्न आफैँलाई पनि समस्या भएको र घरपरिवारले पनि साथ नदिएको श्रीधर बताउँछन् । हाल ७८ वर्ष पुगेका श्रीधरले नङको कारणले युवाअवस्थामा भने निकै समस्या भोग्नु परेको बताउँछन् । विवाहको लागी दर्जनौ केटि हेर्दा पनि कोहि नमिलेर हैरान भएको अनुभव छ श्रीधरलाई । नङकै कारण कोहि केटिले विवाह गर्न नमान्ने त कोहि केटिका परिवारले अस्विकार गर्ने गरेका थिए ।
नङ पालेकै कारणले जागिर खान समेत निकै समस्या भएको थियो । तर अव भने गिनिज बुकमा नाम लेखाएर आफ्नो उद्देश्य पुरा भएको ठान्छन् श्रीधर । उनको नङलाई अब सङ्ग्राहलयमा राखिने छ ।