के समाजले काँचुली फेर्ला त ? (सम्पादकीय)
सहयात्रा सम्पादकीय : परिवर्तित विकासले विश्वबजार गर्माएको आजको २१ औं शताव्दीमा आज पनि नेपाली महिलाहरु बलात्कारको शिकार भए, नेपाली महिला बेचिए अथवा भनौं हर हिसावले महिला हिंसा भयो भनेर दिनहुँ समाचार आईरहनु दुखद कुरा हो । दिनप्रतिदिन बढ्दै गएको यौन हिंसाका कारण घर बाहिरका प्रत्येक पाइला पाइलामा त्रासमय क्षण बिताउने महिलाहरु, आफ्नै बाबु, काका, मामा, दाईबाट बलात्कृत भएको घटना आइरहँदा झनै महिलाहरु घरभित्रै पनि सुरक्षित छु भन्ने अनुभुति गर्न सकेका छैनन् । असुरक्षाकै कारण मानसिक तनाव हुने, ठाउँको सिमा, समयको सिमाभित्र अटाउनुपर्ने, चाहेका र इच्छाईएका कुराहरु मनभित्रै दबाउनुपर्ने अवस्थाले गर्दा महिलाहरुका क्षमता, ज्ञान, कला, योग्यताहरु त्यसै त्यसै हिन भावनाका साथ विलाईरहेका छन् ।
हाम्रो समाजले यौनजन्य क्रियाकलापलाई छाडा र अनैतिकताको सिमाभित्र राखिरहँदा यो सिमा केवल महिलाहरुका लागी मात्र भएको छ । सिमा मिचेर महिलामाथि यौन दुव्र्यवहार गर्ने यौन पिापासु पुरुषलाई उक्त सिमाले कहिँ कतैबाट छेक्न सकेको छैन, नत समाजबाट नत कानुनले नै । बलात्कार गर्नेहरु गर्वका साथ आफ्नो मर्दाङगिनिको प्रशंसा गर्दै हिँडिरहन्छन् । अनि बलात्कारको शिकार भएका महिलाहरु त्यहि घटनाबाट बच्न नसक्दा जिवनको अन्तिम परिक्षामा फेल भएझै गरी आत्महत्या गर्न पुग्छन् वा समाजको अघि अनुहार छोपेर कुनै इच्छा आकाङ्क्षाविना मृत्युलाई पर्खिएर जिवन विताउँछन् ।
भखैरै नवौँ मानव अधिकार राष्ट्रिय महालेखा तथा संकल्पले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एक वर्षभित्रमा ११ सय भन्दा बढि बलात्कारका घटनाहरु दर्ता भएका छन् । ११ सय घटना त केवल दर्ता भएका घटना मात्रै हुन्, इज्जत र समाजको डरले त्यस्ता घटनापछि आँखाबाट बगेका आँसु र यौनिबाट बगेका रगतले घटनालाई पनि चुपचाप बगाइएका त्यस्ता कति ११ सय घटना होलान् ! समाजमा नै मेलमिलाप गराइएका, प्रहरीमा उजुरी नलिइएका, प्रहरीद्धारा नै मेलमिलाप गराइएका त्यस्ता कति ११ सय बलात्कार होलान् ! कुनै अनुमान लगाउन सकिदैन । यो आज तपाईहाम्रा लागि अन्वेषणको विषय हुन सक्छ ।
त्यस्तै, केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षभित्रमा भएका बलात्कारका घटनामा ३१ प्रतिशत घटना १० वर्ष मुनिका बालिकाहरुमाथि भएका छन् । ६२ प्रतिशत घटना ११ देखि १५ वर्षभित्रका किशोरीहरुमाथि र ७ प्रतिशत घटना १६ वर्षमाथिका किशोरीहरुमाथि भएको देखिन्छ । बलात्कार गर्नेमा धेरैजसो ४० वर्ष उमेर कटिसकेका पुरुषहरु छन् भने प्रायः घटना घटाउने बलात्कारी आफ्ना आफन्त, छिमेकी अथवा चिनजानकै मानिसहरुबाट भएको पाइएको छ ।
यो कहालिलाग्दो तत्याङ्क हेर्दा, दिनप्रतिदिन बालिकादेखि वृद्धा आमाहरुसम्म पनि बलात्कारको शिकार बनेको खबर आईरहँदा आफु कतिबेला कोबाट यसको शिकार हुन सक्छ भन्ने चिन्ता र त्रासले नै महिलाहरुलाई प्रत्येक पाइला पाइलामा विझाउने गरेको छ । महिलामाथि नै दोष थुपारिने सामाजिक संरचना, कमजोर कानुनी व्यवस्था, कानुनी कारबाहीमा ढिलासुस्ती, महिला सुरक्षाकर्मीको अभाव जस्ता समस्याका कारण दिनप्रतिदिन बलात्कारी मनहरु मैलाइरहेका छन् । बलात्कारका घटना बढ्नुमा धेरै जसो कानुनलाई भन्दा पनि सामाजिक संरचनालाई जान्छ, किनकि कानुन र सजायले त केवल अपराधी मार्न सक्छ अपराध होइन ।
हाम्रो जस्तो मुलुकमा बलात्कारपछि बलात्कारीले कुनै पनि सामाजिक अपमान भोग्नुपर्दैैैन, तर जो आफुले आफुलाई बचाउन सक्दो प्रयास गरिरहँदा पनि बलात्कारको शिकार बनेकी महिला हुन्छिन्, यो समाजले त्यै पात्रलाई घृणा गर्छ, दोषी ठान्दिन्छ, फलस्वरुप बलात्कारीले हौसला पाउँछन् भने बलात्कारका शिकार बनेका महिलाहरुले आफुमाथि भएको दुव्र्यवहार समाजका सामू खोल्न सक्दैनन्, खुलेर आउन पनि सक्दैनन् । यदाकदा कोही महिलाले हिम्मत जुटाएर आफुमाथि भएको दुव्र्यवहार बाहिर ल्याएपनि आफ्नै घरपरिवार र समाजले नै समाजमै मिलाउनतिर लाग्छ । समाजसँग जुधेर घटनालाई प्रहरीसम्म पु¥याउँदा प्रहरीले नै उजुरी नलिएका, घटना मिलाउन खोजेका उदाहरणहरु हामीसामू प्रशस्तै छन् । यदि उक्त घटना सार्वजनिक भईहाल्यो भने कानुनसम्म पुगेपनि कानुनी प्रकृयामा ढिलाइ भइदिन्छ । यतिका संघर्षका बाबजुत मात्र थोरै बलात्कारका घटनाले न्याय पाउने गर्छन ।
आजभोली बलात्कारका घटना बढ्नुमा महिलाहरुले पहिरिने छोटा कपडा र अगं प्रदर्शनलाई कारण मानि निकै बहस चल्ने गर्छ, तर बलात्कारको घटना छोटो कपडाले होइन पुरुषहरुको छोटो मानसिकताले हुने गर्छ भनेर माथी उठेर सोच्ने बानिको विकास भने यो समाजले प्राप्त गर्न सकेन । बलात्कारीले कुनै सुन्दरी, शारीरिक रुपमा आकर्षक युवतीको मात्र नभई अन्य घरायसी कामकाजी महिलामाथि पनि बलात्कार गरेकै छन् । होइन भने ८ वर्षकी बालिकाको कस्तो शारिरीक संरचनाले उत्तेजित हुन्छन् पुरुषहरु ! ७ वर्षकी बालिकाले लगाएको कपडाले उत्तेजित हुने पुरुषको मानसिकता कस्तो होला ! सम्झदां पनि अपत्यारिलो लाग्ने यी अनावश्यक कपडा र अगं प्रदर्शनका बकमफुसे बहसहरु केवल घटनालाई टार्ने र दोष जति महिलामाथि नै थोपर्ने परिपाटि र पुरुषहरुलाई चोखो बनाउन खोज्ने बाहाना मात्रै हुन् । जसले पुरुषको कमजोर मानसिकतालाई अझै मलजल गर्ने काम गरेर महिलामाथि पहिलो दुव्र्यव्यवहार भएको छ भने महिलामाथि समाजले गर्ने बेवास्थाले अर्को दुव्र्यव्यवहार भएको छ ।
यौन दुव्र्यवहारमा पर्नु महिलाकै गल्ति ठम्याएर समाजले, घरपरिवारले पनि महिलाकै स्वतन्त्रतामाथि सिमा लगाउने काम गरेको हुन्छ । छोरी साँझसम्म बाहिर बस्नु हुदैन, रातविरात हिँड्नु हुदैन, पुरुषहरुसँग हाँस्ने बोल्ने गर्नु हुदैन भनेर अर्ति उपदेशको नाममा उसको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भान हुन्छ । परिवारले छोरालाई अरुका छोरी जिस्काउनु हुदैन, महिलाहरुलाई सम्मान गर्नुपर्छ, दुव्र्यवहार गर्नु हुदैन भनेर किन सिकाउन सक्दैनन् ?
जबसम्म यस्ता समाजको कमजोर मानसिकताले समाजलाई गाँजिरहन्छ, बलात्कारीलाई गोडमेल गरिरहन्छ, देशको कमजोर कानुनी व्यवस्था र कानुनी कारबाहीमा ढिलासुस्ती भईरहन्छ अनि बलात्कारीलाई मलजल पु¥याइरहन्छ तबसम्म महिलाहरु हरेक क्षण, हरेक पल, हरेक ठाउँमा आफुलाई असुरक्षित मात्रै महसुस गर्छन् । अन्ततः महिलाहरु जितोन्मुखतर्फ होईन हारतर्फ मात्रै आफूलाई महसुस गर्ने गर्छन् । अनि कति बेला यौन पिपासुको शिकार हुन्छ भनेर त्रासपूर्ण बाततावरणमा बाँच्नुपर्ने अवस्था छ । तसर्थ, समाज परिवर्तन आफै हुने होईन, जसरी थोपा थोपा पानीवाट समुन्द्र बन्न सक्दछ, त्यसैगरि व्यक्ति व्यक्तिवाट सकारात्मक सोचको परिवर्तन गर्ने हो भने त्यस्ता घृणित कुकार्य आफै हटेर जानेमा दुईमत छैन ।