जनता केन्द्रीत बजेट ल्याउन सुझाव

सहयात्रा टिभी

काठमाडौं । सरकारले सोमबारे बजेट ल्याउने तयारी गरिरहेकाबेला सांसदहरुले भने जनता केन्द्रीत बजेट ल्याउन सुझाव दिएका छन । अर्थ समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले जनतालाई नयाँपन अनुभूत हुने गरी बजेट ल्याउन सुभाव दिएका हुन । बजेटले पुरानै कार्यक्रमलाई निरन्तरता दिए पनि जनता केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ थियो । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भने, ‘ अबको बजेट परिवर्तन ल्याउन सक्ने हुनुपर्छ, एकीकृत बस्तीलाई प्राथमिकतामा राख्न, जंगल सुरक्षाको विषयमा सोच्न र विकासको अनुभूति गराउन सक्ने खालको बजेट आवश्यक छ । ’
सांसद इच्छाराज तामाङले पूर्वाधार विकासलाई सम्बोधन गर्नु अहिलेको बजेटको आवश्यकता रहेको बताए । सांसद गरिमा शाहले विगतमा भएका व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिईन् । अर्थमन्त्री महराले भने सांसदहरूका अधिकांश सुझावलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् । उनले सिंहदरबारको शक्तिलाई तल्लो तहमा लैजाने गरी बजेट तयारी गरेको बताए । महराका अनुसार बजेटमा अधिकतम् रकम स्थानीय तहमा जाने व्यवस्था मिलाइएको छ । खर्चको निर्धारण गर्न सक्ने अधिकार पनि स्थानीय तहलाई नै हुनेछ । उनले भने, ‘ केन्द्रभन्दा प्रदेश शक्तिशाली र प्रदेशभन्दा स्थानीय तह शक्तिशाली हुने छ । ’
अर्थ मन्त्रालयले जनसंख्या धेरै भएको, भूगोल ठूलो भएको र अति विकट स्थानीय तहलाई बढी बजेट पठाउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नयाँ नीति ल्याएर पुरानो किसिमबाट स्रोतको बाँडफाँट हुने बताए । अर्थसचिव डा. शान्तराज सुवेदीले पनि वित्तीय हस्तान्तरणका माध्यमबाट बढीभन्दा बढी रकम स्थानीय तहमा जान पाउने गरी बजेट तयारी भइरहेको जानकारी दिए । सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत जाने करोडौं रुपैयाँ भने अब नपाउने भएका छन् ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्