शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण वितरण सुरु

पाल्पा ।असार–२७, पाल्पाको बगनासकाली गाउँपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण वितरण गर्न सुरु गरेको छ । बगनासकाली गाउँपालिकाले सार्वजनिक सुचना नै जारी गरी कृषी तथा पशुपालनका लागी शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिन सुरु गरेको हो ।
गाउँपालिकाले बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख रुपैयाँ ऋण प्रदान गरेको छ । बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले कुखुरापालनका लागि एक लाख रुपैयाँ ऋण लिएका छन् । सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण पाए ।
यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ ।
शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
शैक्षिक प्रमाणपत्र धितो राखेर पाएको ऋणबाट रकम पाएको तिन महिना भित्रमा काम शुरु गर्नु पर्ने छ भने उक्त रकमको दुई वर्ष सम्म ब्याज तिर्नु नपर्ने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।