प्रदेश १ का सम्पूर्ण एनालग केवल बन्द, एनालग केवल बन्द भएसंगै डिश होमको माग ह्वात्तै बढ्यो

सहयात्रा टिभी
विराटनगर । श्रावण–९, प्रदेश नं. १ मा सञ्चालित सम्पूर्ण एनालग केवल बन्द गरिएको छ । सम्पूर्ण टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने सञ्चार मन्त्रालयको अभियानअनुसार प्रदेश १ का सम्पूर्ण एनालग टेलिभिजन बन्द गराइएको हो ।
सञ्चार मन्त्रालयबाट अनुगमनमा खटिएका टोलीले विराटनगर, इटहरी लगायतका क्षेत्रमा छड्के अनुगमन गरी एनालग प्रविधिबाट सञ्चालित सवै केवल बन्द गराएको हो ।
सञ्चार मन्त्रालयबाट गत वैशाख १५ बाट नै सम्पूर्ण एनालग केवल सञ्चालकहरुलाई केवल बन्द गर्न पत्र पठाएको थियो ।  
मन्त्रालयबाट एनालग केवल बन्द गर्न पटक पटक सुचना र चेतावनी दिए पनि केवल बन्द नगरेपछि मन्त्रालयले अनुगमन गरेर नै केवल बन्द गराउने अभियान सुरु गरेको हो । सोहि अभियानअनुसार सुनसरी, इटहरीमा सञ्चालित पशुपति केवल, सुनसरी केवल पनि बन्द गराइएको छ ।
साथै मन्त्रालयले देशभर नै यो अभियान सञ्चालन गरी चाँडो भन्दा चाँडो एनालग केवल बन्द गराएर डिजिटल प्रविधिमा जान सक्रियताका साथ काम गरिरहेको सञ्चार मन्त्रालयका इञ्जिनियर अनिल भुजेलले जानकारी दिए ।
प्रदेश १ मा एनालग केवल बन्द गराउन इञ्जिनियर भुजेलको नेतृत्वको टोली लागी परेको थियो । प्रदेश १ बाट सुरु गरिएको अनुगमन कार्य चाँडै नै ७ वटै प्रदेशमा पुगेर अनुगमन गरि एनालग केवल बन्द गरिने मन्त्रालयले जानकारी दिएको छ ।
देशभरका एनालग केवल बन्द गराएर डिजिटल प्रविधिमा रुपान्तरण गर्न सञ्चार मन्त्रालय तिव्रताका साथ लागी परेको छ । इटहरी, विराटनगरमा एनालग केवल सञ्चालनमा रोक हुनासाथ डिश होमको माग ह्वात्तै बढेको छ । प्रदेश १ पछि अनुगमन टोली अब चाँडै नै देशभर पुग्ने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्