केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नीति कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ आज, भोलि बजेट

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममाथि उठेका सवालहरुको सोमबार संसद्मा जवाफ दिंदै हुनुहुन्छ । आइतवारबाट नीति कार्यक्रममाथि छलफल सुरु भएपछि प्रधानमन्त्रीले सोमबार जवाफ दिन लाग्नु भएको हो । आइतबार छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले कामचलाउ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई धन्यवाद मात्रै दिन सकिने बताए । सरकारले नीति तथा कार्यक्रम ल्याउँदासमेत विपक्ष दलहरुको मत सुनुवाई नगरेको नेम्वाङले गुनासो गरे । विगतकै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याइएकाले यसमा छलफल आवश्यक नभएको उनले बताए । सत्तारुढ काँग्रेस सांसद रामहरि खतिवडाले भने सरकारले सबै दलको भावनालाई समेटेर साझा दस्तावेजको रुपमा नीति तथा कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरे । सरकारले उज्यालो नेपालको परिकल्पना गरेर मुलुकलाई आत्मनिर्भर बनाउने नीति लिएर राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको उनको दावी थियो । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको टिप्पणी गरे । युवाहरुलाई रोजगारी दिने, स्थानीय तहलाई अधिकार सम्पन्न गराउने, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रमलाई खुलेर समर्थन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद कुन्तीकुमारी शाहीले स्वाधिन अर्थतन्त्र निर्माणको आधार सरकारको नीति तथा कार्यक्रममा नआएको भन्दै आलोचना गरिन् । नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले राष्ट्रिय हित अनुकूल नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरिन् ।
सोमबार सरकारले बजेट पेश गर्नेछ । बजेट पेश गर्नुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्